काठमाडौँ । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन समापन भएसँगै आजदेखि महत्त्वपूर्ण वर्षे (बजेट) अधिवेशन सुरु हुँदैछ। दिउँसो १:०० बजे बस्ने बैठकसँगै प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा बजेट निर्माणको औपचारिक प्रक्रिया अघि बढ्नेछ।
आजको पहिलो बैठकमा मुख्यमन्त्रीसहित प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेताहरूले आफ्नो दलीय धारणा र आगामी प्राथमिकताका बारेमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८३ को उपदफा (१) बमोजिम यो अधिवेशन आह्वान गरेका हुन।
यो अधिवेशन पूर्ण रूपमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र नयाँ बजेट पारित गर्नमा केन्द्रित रहने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिएका छन्। आगामी सम्भावित राजनीतिक दृश्यचित्रयो अधिवेशन बजेटमा केन्द्रित हुने भएकाले दलहरूबीच राजस्वका स्रोत, योजना छनोट र बजेटको आकारलाई लिएर रोचक बहस र सत्ता-प्रतिपक्षबीच रस्साकस्सी चल्ने अनुमान गरिएको छ।

