काठमाडौँ । रूस र युक्रेनबीच जारी युद्धकै इतिहासमा आइतबार राति अहिलेसम्मकै सबैभन्दा ठूलो र भीषण आक्रमणमध्येको एक हमला भएको छ। रूसले युक्रेनको राजधानी किभलाई निशाना बनाएर रातभरि मिसाइल र ड्रोनको वर्षा गराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

युक्रेनी वायुसेनाका अनुसार रूसले एकै रात ९० वटा मिसाइल र ६०० वटा ड्रोन प्रहार गरेको हो। यो भीषण हमलापछि हजारौँ स्थानीय नागरिकहरू ज्यान जोगाउन मेट्रो स्टेशनहरूमा शरण लिन पुगेका थिए। आक्रमण कति भयावह थियो भन्ने पुष्टि गर्दै ६२ वर्षीया स्थानीय नतालिया ज्वारिचले भनिन्, “यो अत्यन्त डर लाग्दो र त्रासपूर्ण थियो।”

युक्रेनी अधिकारीहरूका अनुसार यस आक्रमणमा २ जनाको मृत्यु भएको छ भने झन्डै १०० जना घाइते भएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहरका करिब ३० वटा भवनहरू ध्वस्त वा क्षतिग्रस्त भएको जानकारी दिएका छन्।किभस्थित मन्त्रिपरिषद् भवन र विदेश मन्त्रालयमा सामान्य क्षति पुगेको छ। राजधानीको राष्ट्रिय कला सङ्ग्रहालय र फिलहार्मोनिक हल गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्।

सन् १९८६ को ऐतिहासिक चर्नोबिल आणविक दुर्घटनाको सम्झनामा भर्खरै निर्माण गरिएको नयाँ सङ्ग्रहालय पूर्ण रूपमा ध्वस्त भएको छ। घटनास्थल पुगेका राष्ट्रपति जेलेन्स्कीले यसप्रति कडा आक्रोश व्यक्त गरेका छन्। दर्जनौँ आवासीय भवन, विद्यालय तथा ऐतिहासिक संरचनाहरू भत्किएका छन्।

‘ओरेसनिक’ हाइपरसोनिक मिसाइलको प्रयोग र यसको खतरा

यस आक्रमणको सबैभन्दा खतरनाक पक्ष रूसले आणविक हतियार बोक्ने क्षमता भएको ‘ओरेसनिक’ हाइपरसोनिक मिसाइल प्रहार गर्नु हो। युद्ध सुरु भएयता रूसले यो मिसाइल प्रयोग गरेको यो तेस्रो पटक हो।

के हो ओरेसनिक मिसाइल?

यो रूसले विकास गरेको नयाँ पुस्ताको मध्यम दूरीको ब्यालिस्टिक मिसाइल हो। यसको गति अत्यधिक हुन्छ र यसमा परम्परागत विस्फोटक वा परमाणु वारहेड दुवै राख्न सकिन्छ। यो मिसाइल हावामै छुट्टाछुट्टै भागमा विभाजित भएर एकैपटक धेरै लक्ष्यमा प्रहार गर्न सक्छ, जसका कारण आधुनिक ‘इन्टरसेप्टर’ (हवाई रक्षा प्रणाली) ले समेत यसलाई रोक्न निकै कठिन पर्छ। रूसले यसलाई पहिलोपटक सन् २०२४ को अन्त्यतिर प्रयोगमा ल्याएको थियो।

रूसले ओरेसनिकका साथै इस्कान्दर, किन्झाल र जिर्कोन क्षेप्यास्त्रहरू पनि प्रयोग गरेको स्वीकार गरेको छ। तर, रूसी रक्षा मन्त्रालयले आफूहरूले नागरिकलाई निशाना नबनाएको र यो हमला युक्रेनी सैन्य कमान्ड केन्द्र, हवाई अड्डा तथा सैन्य उद्योग लक्षित जवाफी कारबाही भएको दाबी गरेको छ।

अन्तर्राष्ट्रिय समुदायमा आक्रोश र निन्दा

यस भीषण आक्रमणपछि राष्ट्रपति जेलेन्स्कीले रूसविरुद्ध कडाभन्दा कडा कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। उनका शीर्ष सल्लाहकार किरिलो बुदानोभले यसलाई ‘युक्रेनी पहिचानमाथिको हमला’ को सङ्ज्ञा दिएका छन्।

युरोपेली नेताहरूले पनि रूसको यस कदमको कडा निन्दा गरेका छन्। बेलायत र जर्मनीले आणविक क्षमताको ओरेसनिक क्षेप्यास्त्र प्रयोग गरेर रूसले युद्धलाई झन् खतरनाक मोडमा पुर्‍याउन र उक्साउन खोजेको आरोप लगाएका छन्। त्यस्तै, युरोपेली संघकी कूटनीतिक प्रमुख कजा कलासले मस्कोले राजनीतिक त्रास सिर्जना गर्न खोजेको र आणविक तनाव बढाउने लापरवाही गरेको भन्दै आपत्ति जनाएकी छन्।