काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका महत्त्वपूर्ण ४ वटा निर्णयहरू सार्वजनिक गरेको छ। बैठक सम्पन्न भएलगत्तै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्णयहरूबारे सञ्चारमाध्यमलाई जानकारी गराउनुभएको हो।

यस पटकको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्व परिवर्तनदेखि कृषि, ऊर्जा र सहकारी क्षेत्रका महत्त्वपूर्ण फाइलहरू स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकका मुख्य ४ निर्णयहरू यस प्रकार छन्:

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ। प्राधिकरणको नेतृत्व सम्हाल्दै डंगोलले अब नेपालको उड्डयन क्षेत्रको सुधार र नियमनको जिम्मेवारी पाउने भएका छन ।

वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकियो

किसानहरूलाई आफ्ना उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ। जसअनुसार:

  • मोटो धान: प्रतिक्विन्टल रु ३,६६०

  • मध्यम धान: प्रतिक्विन्टल रु ३,८६० तोकिएको छ।

यस निर्णयले बाली भित्र्याउनु अगावै किसानहरूलाई आफ्नो उत्पादनको बजार मूल्य सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

चिलिमे–केरुङ विद्युत् प्रसारण लाइनको ‘लेटर अफ रिप्लाई’ स्वीकृत

नेपाल र चीन जोड्ने अन्तरदेशीय विद्युत् प्रसारण लाइन आयोजना ‘चिलिमे–केरुङ’ को कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउन सरकारले चीन सरकारलाई पठाइने प्रतित्यूतर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गरेको छ। यस निर्णयसँगै दुई देशबीचको ऊर्जा व्यापार र कनेक्टिभिटीको ढोका थप सहज हुने देखिएको छ।

सहकारी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरिने

सहकारी क्षेत्रमा देखिएका गम्भीर समस्या र बेथितिको अध्ययन गर्न गठित “सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२” को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ। प्रतिवेदन सार्वजनिक भएसँगै सहकारी क्षेत्रको सुधार र बचतकर्ताको रकम सुरक्षाका लागि थप कानुनी कदम चाल्न बाटो खुल्नेछ।