काठमाडौँ । अमेरिका र इरानबीच जारी युद्धविराम र शान्ति वार्ताको प्रयासका बीच अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ हवाई आक्रमण गरेको छ। इरानी मिसाइल राखिएका स्थान र होर्मुज जलडमरूमध्यमा समुद्री सुरुङ (माइन) राख्ने प्रयास गरिरहेका डुङ्गाहरूलाई लक्षित गरी सो हमला गरिएको अमेरिकी सेनाले पुष्टि गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले एक विज्ञप्ति जारी गर्दै यो आक्रमण ‘आत्मरक्षा’ का लागि गरिएको दाबी गरेको छ। सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बीच अमेरिकी सेनाले संयमता अपनाइरहेको तर आफ्ना फौजको सुरक्षाका लागि यो कदम चाल्नुपरेको जिकिर गरे।

इरानी नौसैनिक अड्डा बन्दर अब्बासनजिक विस्फोट

आक्रमण इरानको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकै भएको हो, जुन इरानी नौसैनिक दस्ताको मुख्य केन्द्र मानिन्छ। इरानी सञ्चारमाध्यमहरूले बन्दर अब्बास र वरपरका तटीय क्षेत्रमा ठूला विस्फोटका आवाजहरू सुनिएको र यसबारे स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको बताएका छन्। आक्रमणलाई लिएर इरान सरकारले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यो सैन्य तनाव यस्तो समयमा भएको हो, जब इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भए पनि द्वन्द्व अन्त्य गर्ने सम्झौता ‘तत्कालै’ हुन नसक्ने अभिव्यक्ति दिएका थिए।

आक्रमणका बाबजुद अमेरिका र इरानबीचको सम्भावित शान्ति सम्झौताको ढोका बन्द नभएको अमेरिकी दाबी छ। भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जयपुरमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति सम्झौता अझै पनि सम्भव रहेको बताए।

“प्रारम्भिक दस्तावेजको भाषा र शब्दहरूमा धेरै छलफल भइरहेको छ, त्यसैले सहमतिमा पुग्न केही दिन लाग्न सक्छ। राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्झौता सम्पन्न गर्न इच्छुक हुनुहुन्छ। उहाँले कि त देशको हितमा एउटा उत्कृष्ट सम्झौता गर्नुहुनेछ, कि त सम्झौता नै गर्नुहुने छैन,” विदेशमन्त्री रुबियोले भने।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले दुवै पक्ष सम्झौताको निकै नजिक पुगेको सङ्केत दिँदै वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएका थिए। कतारको दोहामा भइरहेको यो वार्ताको प्रारम्भिक समझदारीपत्रमा ६० दिनका लागि युद्धविराम थप गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण होर्मुज जलडमरूमध्यलाई पुनः सञ्चालन गर्ने र इरानको आणविक कार्यक्रमका विषयमा थप संवाद अघि बढाउने बुँदाहरू समावेश रहेको बताइएको छ। तर, यो नयाँ सैन्य टकरावले वार्ताको भविष्यमाथि प्रश्नचिह्न खडा गरिदिएको छ।