काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएको छ । रोग फेला परेपछि नगरपालिकाले नगर क्षेत्रमा उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल जारी गरेको छ ।
नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै वडा नम्बर २, ३ र ४ मा बर्ड फ्लु देखिएको पुष्टि गरेको हो । संक्रमण पुष्टि भएका क्षेत्रहरूमा पन्छी र पन्छीजन्य आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्यलाई तीव्र पारिएको नगरपालिकाले जनाएको छ ।
पन्छी र दाना नष्ट गरिँदै, जैविक सुरक्षामा कडाइ
सूचना अनुसार सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने तथा सो क्षेत्रलाई निसंक्रमण (Disinfection) गर्ने कार्य भइरहेको छ ।
रोगलाई थप फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा कडा जैविक सुरक्षा अपनाउन निर्देशन दिएको छ, जसअन्तर्गत:
-
फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा पूर्ण रोक लगाइएको छ । प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्नेछ ।
-
एक फार्ममा काम गर्ने मजदुर वा व्यक्ति अर्को फार्ममा जान पाउने छैनन् ।
-
प्रयोग भइसकेको अन्डा राख्ने क्रेटलाई पुनः प्रयोग नगर्न भनिएको छ ।
-
फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको ‘फुटबाथ’ प्रयोग गर्नुपर्नेछ । खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न तथा दैनिक रूपमा खोर निसंक्रमण गर्न कृषकहरूलाई निर्देशन दिइएको छ ।
उपभोक्ता र कृषकलाई विशेष आग्रह
नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ ।
यसैगरी, पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने नियम लागू गरिएको छ । उपभोक्ताहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ ।
नगरपालिकाले आफ्नो क्षेत्रभित्र कतै पनि व्यावसायिक वा घरेलु रूपमा पालिएका पन्छीहरू ठूलो संख्यामा बिरामी परेमा वा मरेमा, लुकाउनुको साटो तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

