काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले उखु किसानहरूको बाँकी बक्यौता र सरकारले दिने अनुदान तत्काल उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले चिनी मिलहरूले उखु किसानलाई लामो समयदेखि भुक्तानी नगरेको भन्दै आक्रोश व्यक्त गरे। उनले पसिना बगाउने किसानहरू सधैँ मारमा परिरहेको उल्लेख गर्दै सरकारले दिने भनिएको अनुदान रकम समेत किसानले अझै प्राप्त गर्न नसकेकाले उक्त रकम चाँडै उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
मल अभाव र बागमती कटानको समस्या
संसदमा किसानका मुद्दा उठाउँदै सांसद सिंहले धान रोपाइँको सिजन नजिकिँदै जाँदा पनि बजारमा रासायनिक मलको अभाव देखिन थालेको बताए। खेतीको समयमा मल नपाउँदा किसानहरू थप मर्कामा पर्ने भन्दै उनले तत्काल पर्याप्त मलको व्यवस्था गर्न सरकारसँग माग गरे।
यसैगरी, उनले सर्लाहीको बरहथवा नगरपालिकामा बागमती नदीको कटानका कारण उत्पन्न संकटको विषय पनि संसदमा उठाएका छन्। बागमती नदीको तीव्र कटानका कारण बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ का करिब ५० हजारभन्दा बढी नागरिकहरू उठीबास हुने जोखिममा परेको उनले बताए।
सांसद सिंहले सो क्षेत्रका नागरिकको जिउधनको रक्षाका लागि कटान नियन्त्रण गर्न र पीडितहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारले तत्काल विशेष कदम चाल्नुपर्नेमा जोड दिए।

