काठमाडौं– नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसको असरले देशका विभिन्न भूभागमा बदली, वर्षा र हावाहुरीको सम्भावना बढेको छ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि बाक्लो बादल लागेको छ। गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने ती प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि केही स्थानमा पानी पर्ने अनुमान गरिएको छ।
यता, सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेको छ भने मधेससहित कोशी, बागमती र गण्डकीका केही स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ।
रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली कायम रहनेछ। केही स्थानमा हल्का वर्षा र चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
विभागले विशेषगरी हावाहुरी, चट्याङ र वर्षाबाट प्रभावित हुन सक्ने क्षेत्रका नागरिकलाई सावधानी अपनाउन अनुरोध गरेको छ।

