काठमाडौं– पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियानलाई तीव्र बनाउँदै पृथ्वीचोक बसपार्क क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका अवैध संरचनामा डोजर चलाएको छ ।
महानगरपालिका–९ अन्तर्गत पर्ने उक्त क्षेत्रमा वर्षौँदेखि टहरा र अस्थायी संरचना बनाएर सार्वजनिक जग्गा प्रयोग हुँदै आएको गुनासोपछि महानगरले हटाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
महानगरको टोली, नगर प्रहरी तथा सम्बन्धित निकायको संयुक्त उपस्थितिमा डोजर प्रयोग गरी अनधिकृत टहरा, छाप्रा र अन्य संरचना हटाइएको हो । अभियानका क्रममा केही स्थानीयले विरोध जनाए पनि सुरक्षा व्यवस्थाबीच संरचना हटाउने काम सम्पन्न गरिएको महानगरले जनाएको छ ।
महानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण र व्यवस्थित सहरी विकासका लागि अतिक्रमणविरुद्धको अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेको छ ।

