काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र फगत एक राजनीतिक व्यवस्था मात्र नभएर आचरणशील जीवन पद्धति भएको बताएका छन्। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गरेका हुन्।

गणतन्त्रले नेपाली नागरिकलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी गरेको उल्लेख गर्दै उनले यो व्यवस्था राष्ट्र निर्माणको एक महान् प्रेरणा र अभिभारा भएको स्पष्ट पारे।

व्यवस्था मात्र होइन, आचरणशील जीवन पद्धति

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रको मर्यादा बचाउन र यसलाई अझ समृद्ध बनाउन सबैले राजनीतिक निष्ठा, मूल्यमान्यता एवं आचरणमा परिवर्तनसहित एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए।

“गणतन्त्रले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौँ,” राष्ट्रपति पौडेलले भने।

राष्ट्रपति पौडेलले राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगको अपेक्षा पूरा नहुने भन्दै राज्यसत्ताको चरित्र, आचरण र निष्ठा बदलिनुपर्नेमा जोड दिए।

मुलुकको वर्तमान चुनौतीबारे ध्यानाकर्षण गराउँदै उनले थपे आज हाम्रो सबैभन्दा ठूलो शत्रु अरू कोही नभएर ढिलासुस्ती, अनियमितता र बेथिति हो। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्नेछैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको गणतन्त्रको लक्ष्य पूरा हुँदैन। नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ को मुख्य लक्ष्य राखेको छ।

नयाँ सरकार र अर्थतन्त्र सुधारमा विश्वास

मुलुकमा बलियो जनादेशसहितको नयाँ सरकार गठन भएको उल्लेख गर्दै राष्ट्रपतिले सरकारको कार्यशैलीप्रति आशा व्यक्त गरे। नयाँ सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलतालाई आफ्नो मार्गदर्शन बनाएको उनले बताए। शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन र कानुनी सुधारले जनतामा नयाँ आशा जागृत हुने उनको विश्वास थियो।

शहीद र संर्घषका योद्धाहरूप्रति सम्मान

ऐतिहासिक दिनको स्मरण गर्दै राष्ट्रपति पौडेलले नागरिक सर्वोच्चता स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे। साथै, जेल, नेल, र यातना सहेर अविचलित रूपमा क्रियाशील रहेका लोकतन्त्रका योद्धाहरू, अग्रज नेताहरू तथा नागरिक समाजप्रति सम्मान एवं आभार व्यक्त गरे।

उच्चपदस्थहरूको उपस्थिति

टुँडिखेलमा आयोजित उक्त भव्य समारोहमा देशका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। समारोहमा:

उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश, सभामुख, र राष्ट्रिय सभाका अध्यक्ष मन्त्रीहरू तथा संवैधानिक निकायका प्रमुखहरू नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।