काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोटको आफ्नो पहिलो खेलमा चीनविरुद्ध २२१ रनको सानदार र ऐतिहासिक जित दर्ता गरेको छ। आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा मात्र ९२ रनमा समेटियो।
चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने नन्दन यादवको नाममा १ विकेट रह्यो। चीनका लागि शेनजियान झेङले ३१, डु जियानहाओले १७ र कप्तान तियान सेनकुनले १३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर ३१३ रनको पहाड खडा गरेको थियो। यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा नेपालले बनाएको दोस्रो ठूलो योगफल हो। यसअघि नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।
टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो योगफलको कीर्तिमान जिम्बाबेको नाममा छ। जिम्बाबेले सन् २०२४ मा गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो।
नेपालको यो विशाल स्कोर खडा गर्न ओपनर कुशल भुर्तेलले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ खेले। उनले मात्र ४३ बलमा १६ छक्का र ५ चौकाको मद्दतले १२९ रन बनाए।
चीनमाथिको यो फराकिलो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले महत्त्वपूर्ण २ अंक जोडेको छ र प्रतियोगितामा सुखद सुरुवात गरेको छ। अब नेपालले आफ्नो दोस्रो खेलमा आगामी बिहीबार मलेसियाको सामना गर्नेछ।

