काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सार्वजनिक गरेको नयाँ तलब संरचनाअनुसार सरकारी कर्मचारीको पारिश्रमिक कुल २१ प्रतिशतले वृद्धि भएको स्पष्ट पारेका छन्।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तलब वृद्धिबारे उठेका भ्रम र आशंकालाई सम्बोधन गर्दै सरकारले घोषणा गरेको वृद्धि वास्तविक रहेको बताए। उनका अनुसार आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ भने थप १० प्रतिशत प्रोत्साहनात्मक व्यवस्थामार्फत समग्र वृद्धि २१ प्रतिशत पुगेको हो।

अर्थमन्त्री वाग्लेले हालका लागि उक्त प्रोत्साहन रकम सबै कर्मचारीले प्राप्त गर्ने भए पनि भविष्यमा प्रशासनिक सुधार र कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू भएपछि यसलाई कार्यसम्पादनसँग जोड्न सकिने संकेत गरे। उनले दक्षता र नतिजाका आधारमा प्रोत्साहन दिने प्रणाली विकास गर्ने सरकारको योजना रहेको बताए।

यस्तै, कर्मचारीलाई यसअघि उपलब्ध हुँदै आएको मासिक ५ हजार रुपैयाँ महँगी भत्ता भने यथावत् कायम रहने उनले जानकारी दिए। सरकारको यो व्यवस्थाले कर्मचारीको मनोबल वृद्धि गर्नुका साथै सार्वजनिक सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।