काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशमशेर राणाले नयाँ राजनीतिक अभियान अघि बढाउने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित राप्रपाभित्रका असन्तुष्ट नेताहरूको छलफलपछि जारी वक्तव्यमा राणाले देशमा विश्वासयोग्य र प्रभावकारी राष्ट्रवादी राजनीतिक शक्ति निर्माणका लागि नयाँ पहल सुरु गर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
उनले राष्ट्रहित, सुशासन, विकास र समृद्धिको पक्षमा उभिएका नागरिक तथा विशेषगरी युवा पुस्तालाई अभियानमा सहभागी हुन आह्वान गरेका छन्। देशको भविष्य निर्माणमा योगदान दिन चाहने राष्ट्रवादी सोच भएका सबै व्यक्तिलाई एकजुट हुन उनले आग्रह गरेका छन्।
राणाले राप्रपालाई जनभावना र जनअपेक्षाअनुसार अघि बढाउने प्रयास गरिए पनि अपेक्षित सफलता हासिल गर्न नसकिएको स्वीकार गरेका छन्। वर्तमान राजनीतिक परिस्थितिमा वैकल्पिक राजनीतिक धार आवश्यक रहेको निष्कर्षसहित नयाँ अभियान अघि सारिएको उनको भनाइ छ।
उनको घोषणालाई राप्रपाभित्र लामो समयदेखि देखिएको असन्तुष्टि र आन्तरिक मतभेदको परिणामका रूपमा हेरिएको छ। यद्यपि अभियानको संगठनात्मक स्वरूप, नेतृत्व संरचना तथा आगामी कार्ययोजनाबारे भने उनले विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्।
राजनीतिक वृत्तमा राणाको यो कदमले राप्रपाको आगामी दिशा र शक्ति सन्तुलनमा नयाँ बहस सुरु गराएको छ।

