CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई लिएर प्रतिनिधिसभामा आज पनि राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ।

प्रधानमन्त्रीले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन र प्रधानमन्त्रीबाट सार्वजनिक रूपमा क्षमायाचना गराउन माग गरेका छन्।

प्रतिपक्षी दलहरूले आज बस्ने प्रतिनिधिसभा बैठकको सुरुवातदेखि नै विरोध जनाउने रणनीति बनाएका छन्। संसद बैठकअघि विपक्षी दलका शीर्ष नेताहरूबीच छलफल गरी साझा धारणा तय गरिने बताइएको छ।
हिजोको बैठकमा प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा दिएको अभिव्यक्तिले सदनमा तीव्र विवाद सिर्जना गरेको थियो। विपक्षी सांसदहरूले तत्काल उक्त भनाइ रेकर्डबाट हटाउन माग गरे पनि सभामुख डीपी अर्यालले त्यसबारे कुनै निर्णय नगरेपछि असन्तुष्टि थप चुलिएको थियो।

विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र कूटनीतिक संवेदनशीलतासँग जोडिएको विषय भएकाले त्यसलाई सामान्य रूपमा लिन नसकिने बताएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर संसदसँग क्षमा नमागेसम्म सदनको नियमित कार्यसूची अघि बढ्न नदिने चेतावनी दिएका छन्।

आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोधका कारण कार्यसूची प्रभावित हुन सक्ने देखिएको छ। संसदको अवरोध हटाउन सत्ता पक्ष र विपक्षी दलबीच सहमतिको प्रयास भए पनि अहिलेसम्म कुनै ठोस निष्कर्ष निस्किएको छैन।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सुरु भएको विवादले संसदको आगामी कार्यसम्पादन र राजनीतिक वातावरणमा समेत प्रभाव पार्ने देखिएको छ। विपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम थप सशक्त बनाउने संकेत दिएका छन्।