काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि सोमबार प्रस्थान गरेका छन्। उनी भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्लीतर्फ गएका हुन्।
रास्वपाका अनुसार लामिछाने जेठ २२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतका राजनीतिक तथा कूटनीतिक क्षेत्रका उच्च तहका व्यक्तिहरूसँग भेटवार्ता गर्नेछन्। द्विपक्षीय सम्बन्ध, लोकतान्त्रिक अभ्यास तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमण अवधिमा लामिछानेले भारतमा बसोबास गरिरहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको जनाइएको छ। पार्टीले यस भ्रमणलाई अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा नेपाली समुदायसँगको सम्पर्क सुदृढ गर्ने अवसरका रूपमा लिएको छ।
लामिछानेको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा अविनाश आचार्य (प्रदीप) सहभागी छन्।
रास्वपाले भ्रमणलाई नियमित राजनीतिक तथा कूटनीतिक संवादको निरन्तरताका रूपमा व्याख्या गरेको छ।

