काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ दिन माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद राईले नेपालले पनि भारतको केही भूभाग मिचेको भन्ने प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गरे। उनले उक्त अभिव्यक्तिले आफू मात्र नभई सम्पूर्ण नेपाली नागरिकको शिर निहुरिएको महसुस भएको बताए।
“आज यो संसद्मा उभिँदा मेरो शिर निहुरिएको छ। प्रधानमन्त्रीज्यूले हिजो यही गरिमामय सदनको रोष्ट्रममा उभिएर नेपालले पनि भारतको जग्गा मिचेको छ भन्नुभयो। त्यो अभिव्यक्तिले मलाई मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुरिएको हुनुपर्छ,” राईले भने।
उनले प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेखमा दर्ज भइसकेको र भविष्यमा नजिरका रूपमा स्थापित हुने भन्दै चिन्ता व्यक्त गरे। प्रधानमन्त्रीको भनाइपछि सत्तापक्षका सांसदहरूले ताली बजाएको विषयप्रति पनि उनले असन्तुष्टि जनाए।
राईले संसद्मै उभिएर नेपालले भारतको कुन–कुन भूभाग मिचेको हो भन्ने तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिए। “प्रधानमन्त्रीज्यू फेरि यही रोष्ट्रममा उभिनुपर्छ र नेपालले कहाँ–कहाँ भारतको सीमा मिचेको छ भनेर एक–एक इन्चको हिसाब दिनुपर्छ। यो राष्ट्रिय स्वाभिमान र सुरक्षासँग जोडिएको विषय हो,” उनले भने।
उनले भविष्यमा भारतले नेपालले मिचेको भनिएको भूमि फिर्ता मागेमा सरकारले के जवाफ दिने भन्ने प्रश्नसमेत उठाए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार भोगचलनसँग जोडेर परराष्ट्र मन्त्रालयले गरेको व्याख्याको पनि राईले आलोचना गरे। “जग्गा मिचेको विषयलाई कसरी सीमापार भोगचलन भन्न मिल्छ? यति सामान्य विषयमा समेत परराष्ट्र मन्त्रालय स्पष्ट हुन सकेको छैन,” उनले टिप्पणी गरे।
राईले प्रधानमन्त्रीको भनाइलाई “अपरिपक्व र राष्ट्रहितविपरीत” भएको आरोप लगाउँदै सरकारबाट स्पष्ट जवाफ आउनुपर्ने माग गरे।
उल्लेखनीय छ, आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपालले पनि भारतको केही भूभाग भोगचलन गरिरहेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि संसद् र राजनीतिक वृत्तमा त्यसको व्यापक चर्चा तथा आलोचना भइरहेको छ।

