काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले संसद्मा देखिएको अवरोध अन्त्य गर्न आफूले निरन्तर संवादको प्रयास गरे पनि विपक्षी दलबाट अपेक्षित सहयोग नपाएको बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख अर्यालले सदनको गतिरोध अन्त्य गर्न पटक–पटक छलफल र संवादका लागि आह्वान गरेको तर विपक्षी पक्षबाट पर्याप्त समय र सहयोग नपाएको बताए।

उनले सभामुखको भूमिकामा रहेर सदैव सहमति र संवादलाई प्राथमिकता दिएको उल्लेख गर्दै संवादबाट निकास ननिस्किएपछि संसद् प्रक्रिया र नियमअनुसार अघि बढ्नुपर्ने अवस्था आएको स्पष्ट पारे।
सभामुख अर्यालले आइतबार प्रतिनिधिसभा नियमावली पारित गर्ने प्रक्रिया संविधान र प्रचलित नियमावलीअनुसार नै सञ्चालन गरिएको दाबी गरे। विधेयक तथा प्रस्तावमा दर्ता भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने जिम्मेवारी मात्र सभामुखको हुने र त्यसलाई स्वीकार वा अस्वीकार गर्ने अधिकार सांसदहरूमै निहित रहेको उनको भनाइ थियो।

आफूले कुनै पनि नियम वा संसदीय प्रक्रिया उल्लंघन नगरेको जिकिर गर्दै उनले आफ्नो भूमिका पूर्ण रूपमा प्रक्रियामुखी रहेको बताए।
साथै, सभामुख अर्यालले राजनीतिक दलहरूलाई विरोध र अवरोधको प्रतिस्पर्धाभन्दा देश, राष्ट्रियता, विकास र जनजीविकाका मुद्दामा सकारात्मक प्रतिस्पर्धा गर्न आग्रह गरे।