काठमाडौं । लेबनानमा इजरायलको सैन्य आक्रमण तीव्र बनेपछि इरानले अमेरिकासँग जारी उच्चस्तरीय वार्ता स्थगित गरेको छ। इरानको यस निर्णयले तीन महिनादेखि जारी युद्ध अन्त्यका कूटनीतिक प्रयासमा नयाँ चुनौती थपिएको छ।

समाचार संस्था ‘तस्निम’का अनुसार इरानी वार्ता टोलीले मध्यस्थकर्तामार्फत हुने वार्ता रोक्ने निर्णय गरेको हो। इरानी संसद्का सभामुख मोहम्मद बागेर गालिबाफले लेबनानी संसद्का सभामुख नबिह बेर्रीसँगको संवादमा इजरायलले आक्रमण नरोकिए इरानले कडा जवाफी कदम चाल्न सक्ने चेतावनी दिएका छन्।

गालिबाफले इजरायली आक्रमण रोक्न प्रयास जारी रहेको उल्लेख गर्दै हिंसा निरन्तर भए वार्ता मात्र होइन, इजरायलविरुद्ध प्रत्यक्ष रूपमा उभिने संकेत दिएका छन्। उनले भविष्यमा इरान–अमेरिकाबीच कुनै सम्झौता भए त्यसले लेबनानसहित सबै मोर्चामा आक्रमण रोक्नुपर्ने धारणा पनि राखेका छन्।

यता इरानको विदेश मन्त्रालयले अमेरिका इरानविरुद्धको युद्धविराम उल्लंघन र लेबनानमा भएका इजरायली कारबाहीप्रति प्रत्यक्ष जिम्मेवार रहेको आरोप लगाएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र हिजबुल्लाहका प्रतिनिधिहरूसँग संवाद गरेको जानकारी दिँदै बेरुततर्फ थप सैनिक नपठाइने बताएका छन्। इरानले वार्ता स्थगित गरेपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्ने अनुमान गरिएको छ।