काठमाडौं। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति सन्दर्भअनुसार बुझ्नुपर्ने बताएका छन्। मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले प्रधानमन्त्रीको भनाइलाई लिएर अनावश्यक विवाद सिर्जना गरिएको टिप्पणी गरे।

पोखरेलका अनुसार प्रधानमन्त्रीले नेपालले भारतको भूभाग कब्जा गरेको भन्ने समाचार भारतबाट आएको सुनेर आफू अचम्मित भएको प्रतिक्रिया व्यक्त गरेका थिए। उनले सीमा सम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै सरकारले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने नीति अवलम्बन गरिरहेको बताए।

उनले नेपाल–भारत सीमा विवाद समाधानका लागि विगतदेखि नै संयुक्त संयन्त्र र प्राविधिक समितिहरू सक्रिय रहेको जानकारी दिए। सीमा क्षेत्रमा दुवै देशका नागरिकले प्रयोग गर्दै आएका केही भूभागका कारण विवाद देखिने गरेको भन्दै उनले त्यसलाई वार्ता र तथ्यका आधारमा टुंग्याउनुपर्ने बताए।

मन्त्री पोखरेलले सीमा सम्बन्धी विषयमा नेपाल र भारतबीच कूटनीतिक नोट आदानप्रदान भइरहेको पनि जानकारी दिए। प्रधानमन्त्रीको अभिव्यक्तिको आशय सीमा विवादलाई वार्तामार्फत समाधान गर्नुपर्नेमा केन्द्रित रहेको उनको भनाइ थियो।

उनले सरकार सीमा विवादजस्ता संवेदनशील विषयमा संवाद र कूटनीतिक पहलमार्फत अघि बढ्ने पक्षमा रहेको स्पष्ट पार्दै आवश्यक पर्दा प्रधानमन्त्रीले संसद्मा यस्ता विषयमा धारणा राख्नु स्वाभाविक भएको बताए।