काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वातावरण संरक्षण, सुरक्षा व्यवस्थापन तथा भूमि प्रशासनसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
बैठकले ओजोन तह संरक्षणका लागि संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युएनईपी) अन्तर्गत कार्यान्वयन हुँदै आएको ‘मोन्ट्रियल प्रोटोकल’ सम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ताले जानकारी दिएका छन्। उक्त निर्णयले ओजोन तहलाई हानि पुर्याउने पदार्थको प्रयोग तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
यस्तै, सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) अञ्जनीकुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
बैठकले २०८२ साल भदौ २३ र २४ गते भएका प्रदर्शनका क्रममा उत्पन्न घटनाबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रसम्बन्धी विषय अध्ययन गर्न बनाइएको समितिको कार्यावधि थप ४५ दिन बढाउने निर्णय गरेको छ।
त्यसैगरी, भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गरिएको छ। समितिका सदस्यमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र डा. रेहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ।
सरकारले यी निर्णयहरू वातावरणीय प्रतिबद्धता कार्यान्वयन, सुरक्षा निकायको संस्थागत सुदृढीकरण तथा भूमि व्यवस्थापनका कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रित रहेको जनाएको छ।

