काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति निकै तिखो प्रहार गरेका छन् । निर्वाचन सम्पन्न भएपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका अध्यक्ष ओलीले सरकारले आफूमाथि निरन्तर प्रहार गरिरहेको गुनासो समेत गरे ।

आफ्नो सम्पत्ति विवरण माग गरिएको विषयमा आपत्ति जनाउँदै ओलीले आक्रोश व्यक्त गरे । उनले आफ्नो सम्पत्ति आगो लागेर खरानी भइसकेको दाबी गर्दै सरकारलाई त्यही खरानी नै उठाएर लैजान चुनौती दिएका छन् ।

“कसैको अकुत सम्पत्ति देख्यो भने सरकारले छानबिन गरोस् । आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण खोज्ने? सम्पत्ति विवरणमा मैले खरानी भरिदिने?” आक्रोशित हुँदै ओलीले प्रश्न गरे, “आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ, सरकारले आएर उठाएर लैजाओस् । के को सम्पत्ति विवरण?”

निर्वाचनको मतपरिणामबाट बनेको सरकारलाई आफूले स्वीकार गरेको स्पष्ट पार्दै अध्यक्ष ओलीले तर सरकारले भने आफूलाई पूर्वाग्रह राखेर तारो बनाएको आरोप लगाए । निर्वाचनपछि ओलीको यो पहिलो सार्वजनिक अभिव्यक्ति र सरकारप्रतिको कडा टिप्पणीलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।