काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि गम्भीर आरोप लगाउँदै उनले ‘देशद्रोही’ कुरा गरेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय विभागद्वारा आयोजित एक राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शाहको राष्ट्रियता सम्बन्धी पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्रीले रोष्ट्रमको प्रयोग गरेर नेपालले भारतको सीमा मिचेको भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको दाबी गरे ।
“उहाँले देशद्रोही कुरा गर्नुभयो । नेपालले भारतको धेरै ठाउँमा सिमाना मिचेको छ भनेर,” ओलीले आक्रोश व्यक्त गर्दै भने, “नेपालले भारतको एक इन्च जमिन पनि मिचेको छैन ।”
नेपालले आफ्नो सार्वभौमसत्ता र सीमानाको सधैं सम्मान गरेको भन्दै ओलीले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट यस्तो तथ्यहीन र मुलुकको हित विपरीतको अभिव्यक्ति आउनु निन्दनीय भएको जिकिर गरे । प्रधानमन्त्री शाहको सोही अभिव्यक्तिका कारण अहिले राजनीतिक वृत्तमा नयाँ बहस र विवाद तरंगित बनेको छ ।

