काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गरेका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले बुधबार प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्दै नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा समसामयिक विषयमा छलफल गरेको जनाइएको छ।
भेटवार्तामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री डा. एस. जयशंकरलगायत उच्च अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी पत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री तथा सांसद विपिन आचार्य, सांसद दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत पुगेको टोलीले विभिन्न राजनीतिक तथा कूटनीतिक भेटघाटलाई निरन्तरता दिएको छ। यसअघि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकर तथा भाजपाका वरिष्ठ नेताहरूसँग पनि भेटवार्ता गरेका थिए।

भ्रमणका क्रममा भारतस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने तथा अयोध्या भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ। लामिछाने नेतृत्वको टोली जेठ २२ गते नेपाल फर्कने कार्यतालिका रहेको बताइएको छ।