काठमाडौ । नेपाली चियाको भारततर्फको निर्यात फेरि प्रभावित भएको छ। भारतीय निकायले गुणस्तर परीक्षणका नाममा थप कडाइ गरेपछि एक सातादेखि मेची नाका हुँदै हुने चिया निकासी लगभग ठप्प बनेको व्यवसायीहरूले बताएका छन्।

नेपाल चिया उत्पादक संघका अनुसार भारतले यसअघि अनिवार्य प्रयोगशाला परीक्षणसम्बन्धी नयाँ कार्यविधिबाट पछि हटे पनि अहिले आयातकर्ताको गोदाममै पुगेर चियाको नमुना संकलन गरी परीक्षण गर्न थालेको छ। परीक्षण प्रतिवेदन नआउन्जेल चिया बिक्री वा वितरण गर्न नपाइने व्यवस्था गरिएकाले व्यवसायीहरू निर्यात गर्न हिच्किचाएका छन्।

संघका अध्यक्ष आदित्य पराजुलीले भारतको भन्सारमा समस्या नरहे पनि गोदामस्तरको परीक्षण प्रक्रियाले व्यापार अवरुद्ध भएको बताए। उनका अनुसार कोलकातामा पुगेका नेपाली चियाका धेरै ट्रक परीक्षणको प्रतीक्षामा छन् र करिब ५० हजार किलो चिया रोकिएको छ।

उद्योगीहरूले भारतीय पक्षले प्राविधिक तथा प्रशासनिक बहाना बनाएर नेपाली चियामा गैरभन्सार अवरोध सिर्जना गरिरहेको आरोप लगाएका छन्। यसले किसान, उद्योगी तथा निर्यातकर्तालाई आर्थिक रूपमा ठूलो असर परेको उनीहरूको भनाइ छ।

नेपालमा वार्षिक करिब २ करोड ६० लाख किलो चिया उत्पादन हुने गरेको छ। विशेषगरी पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुममा उत्पादित अर्थोडक्स चियाको अधिकांश हिस्सा भारत हुँदै अन्तर्राष्ट्रिय बजारमा निर्यात हुने गरेको छ। भारतमा निर्भर निर्यात प्रणालीमा देखिएको पछिल्लो अवरोधले नेपाली चिया उद्योग थप दबाबमा परेको सरोकारवालाहरूले बताएका छन्।