काठमाडौं । सगरमाथा आरोहणका क्रममा सम्पर्कविहीन भएका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन्। प्रतिकूल मौसम र अत्यधिक उचाइका बीच लामो समय बेपत्ता रहेका शेर्पाको सकुशल उद्धार हुनुले पर्वतारोहण क्षेत्रमा आश्चर्य र खुसी दुवै थपेको छ।

उद्धारमा संलग्न एटके एक्सपिडिसनका कार्यकारी निर्देशक पेम्बा शेर्पाका अनुसार दावा शेर्पा हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा भेटिएका हुन्। लामो समय कठोर हिमाली वातावरणमा बिताएकाले उनका हातका केही औँलामा फ्रस्टबाइटको समस्या देखिएको छ।

उनको खोजीका लागि बुधबार अल्टिच्युड एयरको हेलिकोप्टर परिचालन गरिएको थियो। क्याप्टेन विवेक खड्काको नेतृत्वमा गरिएको हवाई खोजी अभियानले सगरमाथा आधार शिविरदेखि तेस्रो शिविर आसपाससम्मको क्षेत्रमा खोजी कार्य सञ्चालन गरेको थियो।

लुक्लाबाट प्राप्त जानकारीअनुसार उद्धार टोली शेर्पा भेटिएको स्थानमा पुगिसकेको छ। उनलाई प्राथमिक उपचारपछि आधार शिविर ल्याएर थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ।
दावा शेर्पा जेठ १५ गते एक पोलिस नागरिकलाई सगरमाथा आरोहण गराएर फर्किने क्रममा तेस्रो शिविर नजिकबाट सम्पर्कविहीन भएका थिए। त्यसपछि उनको खोजीका लागि हवाई तथा स्थलगत दुवै माध्यमबाट अभियान सञ्चालन गरिएको थियो।

पर्वतीय क्षेत्रमा प्रतिकूल मौसम र उच्च उचाइका कारण ६ दिनसम्म बेपत्ता रहेका व्यक्ति जीवितै फेला पर्नु दुर्लभ घटना मानिएको छ। शेर्पाको उद्धारले उनका परिवार, साथीभाइ तथा पर्वतारोहण समुदायमा राहत र उत्साह थपेको छ।