काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्तिको अभाव र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री वाग्लेले प्रधानमन्त्री तथा पार्टी नेतृत्वसँगको छलफलपछि घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली र कार्यविधिमा आवश्यक संशोधन गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए।
उनले निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापित गर्न र देशमा सकारात्मक आर्थिक वातावरण सिर्जना गर्न महत्वाकांक्षी कार्यक्रमहरू सार्वजनिक गरिएको बताए। वाग्लेले २०४८ सालपछि पहिलोपटक यति व्यापक दायराका आर्थिक सुधारका कार्यक्रम घोषणा गरिएको दाबी गर्दै यसले अर्थतन्त्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे।
अर्थमन्त्री वाग्लेले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै वर्षौंदेखि अलपत्र परेका सडक तथा अन्य पूर्वाधार आयोजनाहरू सम्पन्न गर्ने लक्ष्य लिइएको बताए। उनका अनुसार नेपाली जनताको ठूलो लगानी फसेका परियोजनाहरूलाई निश्चित समयसीमाभित्र सम्पन्न गर्न सरकार प्रतिबद्ध छ।
उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा सहरी विकासअन्तर्गतका विभिन्न अपुरा आयोजनाहरू एकदेखि तीन वर्षभित्र सम्पन्न गर्ने योजनामा सरकार अघि बढिरहेको जानकारी दिए। साथै, राजनीतिक श्रेय लिने प्रतिस्पर्धाभन्दा माथि उठेर जनताको हितलाई केन्द्रमा राख्दै काम गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री वाग्लेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर लामो समयदेखि रोकिएका आयोजनाहरूलाई टुंगोमा पुर्याउने प्रक्रिया सुरु भइसकेको समेत बताए। उनका अनुसार विकास निर्माणका कामलाई गति दिँदै आर्थिक गतिविधि विस्तार गर्ने सरकारको मुख्य लक्ष्य रहेको छ।

