काठमाडौं । नेपालले ओमानमाथि ८ विकेटको सहज जित निकाल्दै एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको छ।
आइतबार सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा भएको सेमिफाइनलमा ओमानले दिएको ९४ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै दुई विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा लोकेश बमले अविजित ४४ रनको उत्कृष्ट इनिङ खेले। उनले २६ बलमा सात चौका र एक छक्का प्रहार गरे। कप्तान रोहितकुमार पौडेल २१ रनमा अविजित रहे भने कुशल भुर्तेलले २० रनको योगदान दिए। तेस्रो विकेटका लागि लोकेश र रोहितले अविजित ६८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
ओमानका लागि समीर ओटमनले नेपालका दुवै विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सफ्यान मेहमुदले सर्वाधिक ३८ रन बनाए भने जुबैर अल बलुशीले २२ र अब्दुल जाइलले १६ रन जोडे।
नेपालका करण केसीले तीन विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई-दुई विकेट हात पार्दा शाहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
अब नेपालले उपाधिका लागि हङकङ र मलेसियाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

