काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट राजा शाक्य सभापतिमा निर्वाचित भएका छन्। उनले प्रतिस्पर्धी सुरेश सापकोटालाई ६९ मतले पराजित गर्दै नेतृत्व हात पारेका हुन्।
निर्वाचन समितिका अनुसार शाक्यले २५१ मत प्राप्त गर्दा सापकोटाले १८२ मत पाए।
उपसभापतिमा रवीन्द्र गौतम २१६ मतसहित विजयी भए। उनले निकटतम प्रतिस्पर्धी स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरेका हुन्। खड्काले २११ मत प्राप्त गरेका थिए।
सचिव पदमा सन्तमान महर्जन २९७ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी रमेश न्यौपानेले १३१ मत पाए। सहसचिवमा सौरभ बस्नेत ३२५ मतसहित विजयी हुँदा गणेश थापाले ९५ मत प्राप्त गरे।
सदस्य पदमा सम्शेरबहादुर श्रेष्ठ (१८२ मत), केदारप्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्।
अधिवेशनमा कुल ५२८ मतदातामध्ये ४३८ मत खसेको थियो। तीमध्ये ४३३ मत सदर र ५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
नवनिर्वाचित सभापति शाक्य यसअघि रास्वपा काठमाडौं महानगरपालिका–८ का वडा सभापतिको जिम्मेवारीमा रहेका थिए। जिल्ला नेतृत्वमा उनको चयनसँगै रास्वपाले काठमाडौंमा संगठन विस्तार र सुदृढीकरणलाई थप तीव्रता दिने अपेक्षा गरिएको छ।

