काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरूङले आफू पुनः गृहमन्त्री नियुक्त भएमा सुरुआती दुई महिनासम्म बधाई दिन वा तस्बिर खिच्न मन्त्रालय नआउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले आफूविरुद्ध उठेका आरोपहरूको निष्पक्ष छानबिनबाट सत्य बाहिर आउने विश्वास व्यक्त गरे। छानबिन प्रक्रियाबाट सफाइ पाएर पुनः जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भए मन्त्रालयको कामलाई प्राथमिकता दिने उनको भनाइ थियो।

“यदि फेरि गृहमन्त्री बन्ने अवसर पाएँ भने सुरुआती दुई महिना मन्त्रालयमा बधाई दिन र तस्बिर खिच्न आउने कार्यक्रम नराखिदिनुहोस्,” उनले भने, “त्यो समय पूर्ण रूपमा काममा केन्द्रित हुन चाहन्छु।”

सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनु आफ्नो दायित्व भएको उल्लेख गर्दै गुरूङले छानबिन समितिसमक्ष खुलेर बयान दिएको बताए। उनले समितिले सोधेका कतिपय प्रश्न चुनौतीपूर्ण भए पनि आफूले स्पष्ट र तथ्यमा आधारित जवाफ दिएको दाबी गरे।

सम्बोधनका क्रममा उनले बयानका बेला भएको एउटा रोचक प्रसंग पनि सुनाए। सम्पत्तिको स्रोतबारे समितिले प्रश्न उठाउँदा आफूले पनि समितिका सदस्यहरूको सम्पत्ति छानबिन गर्न सुझाव दिएको उनले बताए।

कार्यक्रममा उनले पार्टी संगठन सुदृढीकरणको विषयलाई समेत जोड दिए। आगामी नेतृत्व स्थानीय स्तरमै सक्रिय हुनुपर्ने बताउँदै उनले जिल्ला सभापति राजधानी केन्द्रित हुनु उपयुक्त नहुने धारणा राखे।

“जिल्लाको नेतृत्व गर्ने व्यक्ति जिल्लामै बसेर जनतासँग निरन्तर सम्पर्कमा रहनुपर्छ,” उनले भने, “निर्वाचनका बेला मात्रै जनता भेट्ने संस्कृतिले संगठन बलियो बन्न सक्दैन।”

गुरूङले पार्टीलाई जनआधारित र सक्रिय संगठनका रूपमा विकास गर्न स्थानीय नेतृत्वको भूमिका निर्णायक हुने उल्लेख गर्दै कार्यकर्तालाई संगठन निर्माणमा जुट्न आग्रह गरे।