काठमाडौं – प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिलाई लिएर उत्पन्न विवादका कारण प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको अवरोध सोमबार पनि जारी रहेको छ।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यले आज सिंहदरबारमा सर्वदलीय बैठक बसे पनि सत्ता र विपक्षी दलबीच कुनै सहमति हुन सकेन।
बैठकमा सत्तारुढ पक्षले भारत भ्रमण, सीमा विवाद तथा समसामयिक विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा धारणा राख्ने प्रस्ताव गरेको थियो। तर विपक्षी दलहरूले उक्त प्रस्ताव अस्वीकार गर्दै प्रधानमन्त्री बालेन शाह स्वयं संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अडान दोहोर्याए।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ नआएसम्म संसद् अवरोध जारी रहने संकेत विपक्षी दलहरूले दिएका छन्। सहमति जुट्न नसक्दा संघीय संसद्को नियमित कार्यसूची प्रभावित हुने अवस्था देखिएको छ।

