काठमाडौं – श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ले प्रधानमन्त्री वालेन्द्र शाह ले नेपालले भारतीय भूमि मिचेको भन्ने अभिव्यक्तिको प्रमाण प्रस्तुत गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै राईले प्रधानमन्त्रीले गत जेठ १७ गते दिएको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। उनले प्रधानमन्त्रीले आफ्नो दाबी पुष्टि गर्ने प्रमाण सार्वजनिक गर्न नसके संसद्मा उभिएर भनाइ सच्याउनुपर्ने माग गरे।
राईले नेपालको भूगोल र सीमाको संरक्षण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीकै अभिव्यक्तिले राष्ट्रिय हितविपरीत सन्देश गएको टिप्पणी गरे। उनले सीमा अतिक्रमणका विषयमा स्पष्ट राष्ट्रिय नीति आवश्यक रहेको पनि बताए।
उनले नेपाली सेनालाई सीमाको सुरक्षामा केन्द्रित गर्नुपर्ने धारणा राख्दै सीमा क्षेत्रमा प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरे।
साथै, राईले प्रधानमन्त्रीको भनाइबारे अन्य मन्त्री वा राजनीतिक नेताले स्पष्टीकरण दिएर नपुग्ने उल्लेख गर्दै प्रधानमन्त्री स्वयंले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने बताए। संसद्को अभिलेखबाट उक्त टिप्पणी हटाउनसमेत उनले माग गरेका छन्।