काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार पुनः अवरुद्ध भएको छ। प्रधानमन्त्री बालेन शाह को अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जारी राखेपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल लाई आफ्नो धारणा राख्न समय दिएका थिए।
उपनेता अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीमाथि प्रश्न उठाएको भन्दै संसद्मा त्यसबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्। उनले प्रधानमन्त्रीले आफ्नो भनाइ सच्याउँदै आवश्यक परे क्षमायाचना गर्नुपर्ने धारणा राखिन्।
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा नेपाल–भारत सीमा सम्बन्धी विषय कूटनीतिक संवाद र छलफलमार्फत समाधान गर्नुपर्ने बताएका थिए। सोही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आपत्ति जनाउँदै संसद्का बैठकहरूमा लगातार अवरोध गरिरहेका छन्।
संसद्मा जारी गतिरोध अन्त्यका लागि दलहरूबीच छलफल भए पनि सहमति नजुट्दा प्रतिनिधिसभाको कामकारबाही प्रभावित हुँदै आएको छ।

