काठमाडौं – विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।
सोमबार बसेको बैठक विपक्षी सांसदहरूको विरोधपछि पहिलो चरणमा १५ मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि संसद् सचिवालयले सूचना जारी गर्दै बैठक जेठ २६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण गरिएको जनाएको छ।
संसद् सचिवालयका अनुसार विशेष कारणवश तोकिएको समयमा बैठक सञ्चालन हुन नसकेकाले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले नयाँ मिति र समय तोकेका हुन्।
यसअघि सोमबारको बैठकमा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलका सांसदहरूले कडा विरोध जनाएका थिए। विपक्षीहरूले प्रधानमन्त्रीले सदनमा उपस्थित भई माफी माग्नुपर्ने तथा विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेका थिए।
संसदीय गतिरोध अन्त्यका लागि राजनीतिक तहमा छलफल जारी रहे पनि सहमति जुट्न नसक्दा प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित बनेको छ।

