काठमाडौं। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूलाई सरकारी जग्गा, भवन, विद्युत्, पानी तथा अन्य सेवा प्रयोग गरेबापतको बक्यौता रकम सात दिनभित्र भुक्तानी गर्न निर्देशन दिएको छ।

जेठ २५ गते जारी गरिएको सूचनामार्फत लिमिटेडले तोकिएको समयभित्र बक्यौता रकम नतिरे सम्झौता तथा प्रचलित नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको हो।

लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रका १५१, हेटौंडा औद्योगिक क्षेत्रका १३१ र पाटन औद्योगिक क्षेत्रका ९४ उद्योगले अझै बक्यौता रकम तिरेका छैनन्। यस्तै पोखरा, बुटवल, वीरेन्द्रनगर, भक्तपुर र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका उद्योगहरूको समेत बक्यौता बाँकी रहेको जनाइएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार केही ठूला व्यापारिक घराना र बहुराष्ट्रिय कम्पनीहरू नै उच्च बक्यौता भएका उद्योगको सूचीमा छन्। गुराँस इन्जिनियर्स प्रालिको ३ करोड ७३ लाख रुपैयाँभन्दा बढी, कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज प्रालिको ३ करोड ६९ लाख रुपैयाँभन्दा बढी तथा बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेकको २ करोड ५५ लाख रुपैयाँभन्दा बढी बक्यौता रहेको छ।
त्यस्तै, बोटलर्स नेपाल लिमिटेड (कोकाकोला)को १ करोड ७५ लाख रुपैयाँभन्दा बढी, बालाजु अटो वर्क्स प्रालिको १ करोड ४५ लाख रुपैयाँभन्दा बढी, नेपाल ग्यास उद्योगको १ करोड ३१ लाख रुपैयाँभन्दा बढी तथा कन्टिनेन्टल सर्भिसेज प्रालिको करिब १ करोड रुपैयाँ बक्यौता रहेको विवरणमा उल्लेख छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले लामो समयदेखि बाँकी रहेको रकम असुलीलाई प्राथमिकतामा राख्दै सबै उद्योगलाई निर्धारित समयभित्र बक्यौता राफसाफ गर्न आग्रह गरेको छ।