काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपक्षी सांसदहरूको गतिविधिप्रति असन्तुष्टि जनाउँदै संसद्को गरिमामाथि आघात पुगेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सचेतक निश्कल राईले सहिदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न प्रस्ताव गरेका थिए। त्यसपछि विपक्षी सांसदहरू मात्रै उठेर मौनधारणमा सहभागी भएका थिए।

यसक्रममा सभामुख अर्यालले आफूले सभा सञ्चालन गरिरहेकै बेला सदस्यहरूले आफ्नै निर्णयअनुसार समय तोक्दै कार्यक्रम अघि बढाउनु संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरे। उनले यस्तो कार्यले सभाको अधिकार र गरिमामाथि अपमान भएको बताए।

सभामुख अर्यालले विपक्षी सांसदहरूको अभिव्यक्ति र व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै संसद् सञ्चालन निर्धारित प्रक्रिया र नियमअनुसार हुनुपर्नेमा जोड दिए।

यसअघि कांग्रेसका सचेतक राईले नेपाललाई एकीकरण र एकताबद्ध राख्न योगदान पुर्‍याएका सहिदहरूको सम्मानस्वरूप मौनधारण गर्न आग्रह गरेका थिए। त्यसपछि विपक्षी दलका सांसदहरूले मात्र मौनधारण गरेका थिए।