काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्री नियुक्त गरेका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा संघीय संसदका सदस्यहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त गृहमन्त्री गुरुङ यसअघि पनि सोही मन्त्रालयको जिम्मेवारीमा थिए। सम्पत्ति विवरणसम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारले गठन गरेको छानबिन समितिले उनीमाथि लगाइएका आरोपबारे क्लिनचिट दिएपछि उनी पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्।

त्यस्तै, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ। उनी यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए। फागुन २१ को निर्वाचनअघि उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा सहभागी भएका थिए।

गोरखा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निर्वाचित सांसद गुरुङको पुनरागमनसँगै सरकारको गृह प्रशासनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ भने प्रविधि र नवप्रवर्तन क्षेत्रमा महावीर पुनको अनुभवले नयाँ पहलहरू अघि बढ्ने विश्वास गरिएको छ।