काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाही ले अर्थमन्त्री स्वर्णिम वाग्ले ले कर छलीसम्बन्धी विषयमा संसदीय समितिमा गलत जानकारी दिएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले भन्सार कर छली र करका दर हेरफेरसम्बन्धी विषय गम्भीर रहेको भन्दै त्यसबारे निष्पक्ष छानबिन आवश्यक रहेको बताए। उनले आफूहरूले संसदीय छानबिन समिति गठनको माग कुनै राजनीतिक स्वार्थका लागि नभई सत्यतथ्य सार्वजनिक गर्नका लागि गरेको दाबी गरे।

शाहीले कर नीतिसम्बन्धी निर्णय र भन्सार प्रक्रियामा भएका भनिएका अनियमितताबारे स्पष्ट छानबिन हुनुपर्ने उल्लेख गर्दै सरकारले यस विषयमा जवाफदेही बन्नुपर्ने बताए। उनले करका दर परिवर्तनसँग सम्बन्धित विवादबारे संसदीय छानबिन समिति गठन गरी तथ्य बाहिर ल्याउन आग्रह गरे।
कर छली र करका दर हेरफेरको विषयलाई लिएर प्रतिपक्षी दलहरूले पछिल्ला दिनमा संसद् तथा संसदीय समितिहरूमा सरकारसँग जवाफ माग्दै आएका छन्। राप्रपाले पनि उक्त विषयमा निष्पक्ष अनुसन्धान र जिम्मेवार निकायबाट छानबिनको माग निरन्तर उठाउँदै आएको छ।