काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् र संसदीय समितिप्रति धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा करका दर हेरफेर गरेको स्वीकार गर्नु आर्थिक अनियमिततासँग सम्बन्धित विषय भएको दाबी गरे। उनले संसद् र समितिको गरिमा कमजोर बनाउने खालका अभिव्यक्ति स्वीकार्य नहुने बताए।
पुनले कार्यपालिका संसद् र संसदीय समितिप्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै अर्थमन्त्रीको अभिव्यक्तिले संसद्को मानहानी भएको टिप्पणी गरे। उनले करका दर परिवर्तनसम्बन्धी विषयमा निष्पक्ष छानबिन आवश्यक रहेको भन्दै रुलिङको मागसमेत गरे।
उनले विगतका बजेटहरूमा भएका कर हेरफेरसम्बन्धी विषय पनि छानबिनको दायरामा ल्याउनुपर्ने बताए। आफ्नो कार्यकालमा प्रस्तुत गरिएको बजेटसहित अघिल्ला र चालु आर्थिक वर्षका बजेटसम्बन्धी निर्णयहरूको समेत अनुसन्धान हुनुपर्ने उनको भनाइ थियो।
“७३ वटा होस् वा एउटा मात्रै, नियमविपरीत गरिएको काम अपराध नै हो,” भन्दै पुनले पुराना र नयाँ घटनालाई छुट्टाछुट्टै व्याख्या गरेर विषयान्तर गर्न नहुने बताए।
सांसद पुनले करका दर परिवर्तनसम्बन्धी विवादको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न माग गरे। साथै, अर्थमन्त्रीले संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा पुराना फाइल खोल्ने चुनौती दिएको उल्लेख गर्दै उनले आफूबाटै छानबिन सुरु गर्न तयार रहेको बताए।