काठमाडौ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ। एक्रोन रङ्गशालामा शुक्रबार सम्पन्न खेलमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै कोरियाले महत्वपूर्ण तीन अंक हासिल गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा थप रोमाञ्चक बनेको थियो। करिब ४५ हजार दर्शकको उपस्थितिमा दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए।
चेक गणतन्त्रले दोस्रो हाफको सुरुवातमै लाडिसलाभ क्रेइचीको हेडिङ गोलमार्फत अग्रता बनाएको थियो। तर दक्षिण कोरियाले दबाब कायम राख्दै खेलमा पुनरागमन गर्‍यो। टोलीका स्टार फरवार्ड ह्वाङ ही–चानले बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याए।

बराबरीपछि दुवै टोली जितको खोजीमा आक्रामक बनेका थिए। खेलको अन्तिम चरणमा ओ ह्युन–ग्युले उत्कृष्ट फिनिसिङ गर्दै दक्षिण कोरियाका लागि निर्णायक गोल गरे। उनको गोलसँगै कोरियाले २–१ को अग्रता बनायो, जुन अन्त्यसम्म कायम रह्यो।

बाँकी समयमा चेक गणतन्त्रले बराबरी गोलको प्रयास गरे पनि दक्षिण कोरियाली रक्षापंक्तिले मजबुत प्रदर्शन गर्दै विपक्षीलाई सफल हुन दिएन।
यस जितसँगै दक्षिण कोरियाले समूह ‘ए’ मा विजयी सुरुआत गर्दै नकआउट चरणतर्फको यात्रालाई बलियो बनाएको छ भने चेक गणतन्त्र पहिलो खेलमै पराजित बनेको छ।