काठमाडौं । नेकपा (एमाले)का सांसद गुरु बरालले विगतका सबै विवादित घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर सम्बन्धी विषयमा दिएको चुनौतीको जवाफ दिँदै सत्यतथ्य बाहिर ल्याउन प्रतिपक्ष तयार रहेको स्पष्ट पारे।
उनले विगतका सबै घटनालाई निष्पक्ष रूपमा छानबिन गरी “दूधको दूध, पानीको पानी” गर्नुपर्ने आवश्यकता औँल्याए। कमजोरी देखिए सुधार गर्न पनि आफूहरू तयार रहेको उनको भनाइ थियो।

बरालले अर्थमन्त्री वाग्ले छानबिनबाट उम्किन नसक्ने दाबी गर्दै करका दर हेरफेरलगायतका विषयमा संसदीय छानबिन समिति गठन गर्न माग गरे। उनका अनुसार यस्ता विवादको निष्पक्ष निरूपण नभए गलत अभ्यासले निरन्तरता पाउने र खराब नजिर स्थापित हुने खतरा रहन्छ।
“यो प्रवृत्तिको स्थायी अन्त्यका लागि संसदीय छानबिन समिति आवश्यक छ,” बरालले भने।
यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सदनमा जवाफ दिने क्रममा आफूविरुद्ध आरोप लगाउने सांसदहरूलाई विगतका विभिन्न काण्डसमेत सार्वजनिक हुन सक्ने चेतावनी दिएका थिए। उनले “तपाईंहरूका काण्डबारे पनि म अनभिज्ञ छैन, ती विषयहरू पनि खुल्दै जानेछन्,” भन्दै प्रतिवाद गरेका थिए।
अर्थमन्त्री र प्रतिपक्षबीचको यो आरोप–प्रत्यारोपसँगै करका दर हेरफेर सम्बन्धी विवादमा संसदीय छानबिनको माग थप चर्किएको छ।