काठमाडौ । फिफा विश्वकप–२०२६ अन्तर्गत तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
क्यानडाको टोरन्टो स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुआती अग्रता भने भ्रमणकारी टोली बोस्नियाले लिएको थियो। खेलको २१औँ मिनेटमा जोभो लुकिचले आकर्षक हेडरमार्फत गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए।
पहिलो हाफमा पछि परेको क्यानडाले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै बराबरी गोलको खोजी गर्‍यो। अन्ततः ७९औँ मिनेटमा अनुभवी फरवार्ड काइल लारिनले उत्कृष्ट फिनिसिङ गर्दै घरेलु टोलीलाई खेलमा फर्काए।
बाँकी समयमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन नसक्दा खेल १–१ को बराबरीमा टुंगियो। यस नतिजासँगै क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले समान एक–एक अंक हासिल गरेका छन्।
विश्वकप अन्तर्गत अब चौथो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार बिहान ६ः४५ बजे सुरु हुनेछ।