काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ भइरहेको वार्ताबाट ऐतिहासिक सम्झौता आजै हुन सक्ने बताएका छन्। तर, इरानले भने उक्त दाबीलाई तत्काल अस्वीकार गर्दै सम्झौता हुन अझ केही दिन लाग्न सक्ने जनाएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सम्झौता सम्पन्न भएलगत्तै विश्वको महत्वपूर्ण व्यापारिक समुद्री मार्ग ‘स्ट्रेट अफ हर्म्युज’ सबै मुलुकका लागि खुला रहने दाबी गरेका छन्। उनले सम्झौतापछि इरानसँग सम्बन्धित आणविक सामग्री अमेरिकी नियन्त्रणमा आउने र त्यसलाई नष्ट गरिने समेत उल्लेख गरेका छन्।
वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सहमति टुङ्गिने अपेक्षा गरिएको जनाएको छ। पाकिस्तानी पक्षका अनुसार सम्भावित सम्झौताका लागि ‘इलेक्ट्रोनिक हस्ताक्षर’ सम्बन्धी तयारीसमेत अघि बढाइएको छ।
यता, ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले कुनै निश्चित मिति तोक्न हतार नगर्न आग्रह गरेका छन्। उनले सम्झौताको प्रक्रिया सकारात्मक भए पनि आइतबार नै हस्ताक्षर हुने सम्भावना नरहेको स्पष्ट पारेका छन्।
पश्चिमी मुलुकहरूले लामो समयदेखि इरानमाथि आणविक हतियार विकास गर्न खोजेको आरोप लगाउँदै आएका छन्। तर, इरानले भने आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको र विद्युत उत्पादन तथा वैज्ञानिक प्रयोजनका लागि मात्रै सञ्चालन गरिएको बताउँदै आएको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले वार्ता अपेक्षाअनुसार छिटो र शान्तिपूर्ण रूपमा अघि नबढे अमेरिकासँग ‘अन्तिम विकल्प’ समेत तयार रहेको चेतावनी दिएका छन्। यद्यपि, उनले त्यस्तो विकल्प प्रयोग गर्नुपर्ने अवस्था नआओस् भन्ने आफूले चाहेको बताएका छन्।

