काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को चर्चित खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र अफ्रिकन प्रतिनिधि मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले सुरुवाती अग्रता लिए पनि ब्राजिलले पुनरागमन गर्दै हार टारेको हो।
खेलको २१औँ मिनेटमा ब्राहिम डियाजको आकर्षक पासमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए। पीएसभी आइन्डोभेनका फरवार्ड साइबारीले ब्राजिलका गोलरक्षक एलिसन बेकरलाई झुक्याउँदै उत्कृष्ट फिनिस गरेका थिए।
तर ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्यो। ब्रुनो गुइमारेसको पासमा स्टार फरवार्ड विनिसियस जुनियरले शानदार गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल थप्न सकेनन्। ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोका प्रयासहरू मोरक्कोका अनुभवी गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै विफल पारे। खेलको अन्तिम समयमा मोरक्कोले जितको अवसर पाए पनि एलिसन बेकरले महत्वपूर्ण बचाउ गर्दै ब्राजिललाई हारबाट जोगाए।
सन् २००२ पछि पुनः विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको ब्राजिलका लागि नयाँ मुख्य प्रशिक्षक कार्लो अन्सेलोटीको यो विश्वकपको पहिलो ठूलो परीक्षा थियो। घाइते स्टार स्ट्राइकर नेयमारको अनुपस्थितिमा खेलेको ब्राजिलको समर्थन गर्न पूर्व खेलाडी रोनाल्डो, रोबर्टो कार्लोस र काका पनि रंगशालामा उपस्थित थिए।
यो नतिजासँगै दुवै टोलीले समूह ‘सी’ मा एक–एक अंक जोडेका छन्। अब ब्राजिलले आगामी खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ।

