काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सुशासन, प्रणाली सुधार र भ्रष्टाचार नियन्त्रणमार्फत मात्रै समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।
नेपाल रत्न तथा आभूषण संघको २०औँ वार्षिक साधारण सभा तथा आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सुशासनयुक्त समाज नै समृद्ध नेपालको आधार भएको उल्लेख गरे। भ्रष्टाचारलाई सुशासनको सबैभन्दा ठूलो बाधकका रूपमा चित्रण गर्दै त्यसको अन्त्यका लागि प्रणाली सुधारमा केन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
सांसद पराजुलीले विगतदेखि नै नेपालको प्रशासनिक र शासकीय प्रणाली विभिन्न विकृति तथा विसंगतिबाट प्रभावित हुँदै आएको र त्यसको असर निजी क्षेत्रसम्म पुगेको बताए। व्यवसाय सञ्चालनका क्रममा विकसित भएका केही गलत अभ्यासहरू समयसँगै संस्थागत समस्याका रूपमा देखापरेको उनको भनाइ थियो।
उनले विगतका नेतृत्वहरूले आफ्ना निकटवर्ती र प्रभावशाली व्यक्तिमाथि कारबाही गर्न नसक्दा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको टिप्पणी गरे। यद्यपि, अहिले कानुनी शासन र सुशासनलाई प्राथमिकतामा राखेर सुधारको नयाँ चरण सुरु भएको उनले दाबी गरे।
पराजुलीले कानुन सबै नागरिकका लागि समान रूपमा लागू हुनुपर्ने उल्लेख गर्दै शक्तिशाली र प्रभावशाली व्यक्तिहरूलाई कानुनी दायराभन्दा बाहिर राखेर सुशासनको लक्ष्य हासिल गर्न नसकिने स्पष्ट पारे। जनतामा कानुनप्रति विश्वास स्थापित गर्न निष्पक्ष कार्यान्वयन आवश्यक रहेको उनको भनाइ थियो।
उनले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा व्याख्या गर्दै सुशासन अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। सरकार, निजी क्षेत्र र नागरिक समाजबीच विश्वास र सहकार्यको वातावरण निर्माण गर्न सके मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सहज हुने विश्वास उनले व्यक्त गरे।
सांसद पराजुलीले पछिल्लो पुस्ताले राजनीतिमार्फत राष्ट्रलाई सही दिशामा अघि बढाउने जिम्मेवारी लिएको उल्लेख गर्दै जनविश्वासलाई परिणाममा रूपान्तरण गर्नु अहिलेको प्रमुख चुनौती रहेको बताए।

