काठमाडौँ । नेपाली चियाको भारत निर्यातमा देखिएको अवरोधका कारण इलाम र झापाका चिया उद्योगहरू बन्द हुने भएका छन्। निर्यात रोकिँदा ठूलो परिमाणमा तयारी चिया उद्योगमै थन्किएर बस्न पुगेपछि उद्योगीहरूले उद्योग सञ्चालन गर्न नसक्ने अवस्था आएको बताएका छन्।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार सोमबारदेखि इलामका ५६ वटा र बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गरिने निर्णय गरिएको छ। यी उद्योगसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख मजदुर र किसानका ३० हजार परिवार आश्रित रहेका छन्।
उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गर्दै नेपाली चियाको अनिवार्य गुणस्तर परीक्षण थालेपछि निर्यात प्रक्रिया जटिल बनेको छ। परीक्षणका नाममा भारत पुगेको झण्डै दुई लाख किलो चिया भारतीय आयातकर्ताका गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा १० लाख किलोभन्दा बढी तयारी चिया थन्किएको बताइएको छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा गुणस्तर परीक्षण प्रक्रिया अपारदर्शी र लामो भएकाले निर्यात ठप्प बनेको उल्लेख गरिएको छ। परीक्षणको नतिजा महिनौँसम्म नआउने र गुणस्तरमा समस्या देखिए भारतीय गोदाममै चिया नष्ट गर्नुपर्ने व्यवस्था अव्यावहारिक भएको उद्योगीहरूको गुनासो छ।
निर्यात अवरुद्ध हुँदा किसानबाट खरिद गरिएको हरियो चियापत्तिको भुक्तानी गर्न समेत कठिन भएको उद्योगीहरूले बताएका छन्। सरकारले समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल नगरेको आरोप लगाउँदै उद्योगीहरूले उद्योग बन्दसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।
उद्योगीहरूका अनुसार इलाम र झापामा वार्षिक करिब २ करोड ६५ लाख किलो चिया उत्पादन हुने गरेको छ, जसको ९० प्रतिशतभन्दा बढी बजार भारत हो। सूर्योदय क्षेत्रबाट मात्र वार्षिक करिब साढे चार अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुँदै आएको बताइएको छ।
चिया किसान, मजदुर र उद्योगीहरूले आगामी दिनमा काँकरभिट्टा नाकामा भारतीय उत्पादनको प्रवेश रोक्ने तथा सीमा नाका अवरुद्ध गर्ने लगायतका आन्दोलनका कार्यक्रमसमेत सञ्चालन गर्ने चेतावनी दिएका छन्।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४ सय टन चिया निर्यात गरेको छ। गत आर्थिक वर्षमा ४ अर्ब ५९ करोड रुपैयाँ बराबरको १५ हजार ६ सय टन चिया निर्यात भएको थियो।

