काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। कार्यवाहक मेयर सुनिता डंगोलद्वारा प्रस्तुत यस नीतिमा शहरको सौन्दर्य, सुरक्षा, पूर्वाधार विकास र युवा स्वरोजगारलाई मुख्य प्राथमिकतामा राखिएको छ।

महानगरले शहरलाई कुरुप बनाउने र सुरक्षामा आँच पुर्‍याउने किसिमका विज्ञापन सामग्रीहरूलाई पूर्ण रूपमा निषेध गर्ने घोषणा गरेको छ।

डिजिटल सञ्चार र एकद्वार सेवा प्रणाली

महानगरले आफ्ना सूचना तथा गतिविधिहरूलाई मितव्ययी र पारदर्शी बनाउन सञ्चार रणनीतिमा ठूलो फेरबदल गरेको छ।

  • डिजिटल प्लेटफर्मको प्रयोग: अबदेखि महानगरका सूचनाहरू वेबसाइट, आधिकारिक मल्टि च्यानल र डिजिटल प्लेटफर्महरू मार्फत मात्र सार्वजनिक गरिनेछ।

  • एकद्वार सेवा केन्द्र: सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन कर्मचारीहरूको कार्यक्षमता अभिवृद्धि गर्दै सबै वडा कार्यालयहरूमा एकद्वार सेवा केन्द्र सञ्चालन गरिने नीतिमा उल्लेख छ।

युवा लक्षित कार्यक्रम: ‘सिक्दै जाँदा कमाउनुहोस्’

विद्यार्थी र युवाहरूलाई लक्षित गर्दै महानगरले एक नवप्रवर्तनात्मक कार्यक्रम अघि सारेको छ। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि ‘सिक्दै जाँदा कमाउनुहोस् भन्ने अवधारणा अन्तर्गत इन्टर्नशिप, फेलोशिप र पार्ट-टाइम रोजगारीका अवसरहरू सिर्जना गरिने भएको छ। यसले युवाहरूलाई आर्थिक रूपमा सबल बनाउनुका साथै कार्यअनुभव बटुल्न मद्दत गर्ने विश्वास लिइएको छ।

नयाँसडकको पार्किङ समस्या सुल्झाउन बहुतले भवन

नयाँसडक र आसपासको क्षेत्रमा वर्षौँदेखि रहेको जटिल पार्किङ समस्याको दीर्घकालीन समाधानका लागि महानगरले नयाँ योजना अघि सारेको छ। नेपाल वायुसेवा निगमको गेटस्थित घरजग्गालाई बहुतले पार्किङका रूपमा उपयोग गर्न नेपाल सरकारमार्फत आवश्यक पहल अघि बढाइने नीति तथा कार्यक्रममा समेटिएको छ।

शहरी सुव्यवस्था र ‘सवनेशनल डिप्लोमेसी’

शहरी सुव्यवस्थापन र सुरक्षाका लागि महानगर प्रहरीको परिचालनलाई थप व्यवस्थित बनाइनेछ। यसका लागि नेपाल प्रहरी, स्थानीय समुदाय र सम्बद्ध संघसंस्थाहरूसँगको सहकार्यलाई बलियो बनाइने नीति लिइएको छ।

साथै, विश्वका आधुनिक शहरहरूले अपनाएका असल अभ्यास, प्रविधि र संस्कृति आदानप्रदान गर्दै काठमाडौँको सर्वाङ्गीण विकासका लागि महानगरले पहिलो पटक ‘सवनेशनल डिप्लोमेसी को अभ्यास गर्ने घोषणा गरेको छ।