काठमाडौं – नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिएको ‘अतीतको बोझ बोक्न सक्दैनौँ’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसको अर्थबारे संसद्मार्फत स्पष्ट पार्न माग गरेकी छन्।
सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा बोल्दै अर्यालले परराष्ट्रमन्त्री कूटनीतिक आतिथ्यमा रमाउँदै राष्ट्रिय हितका विषयमा संवेदनशीलता गुमाएको आरोप लगाइन्। उनले “पारि बाघ कराएको वारि बाख्रा हराएको” भन्ने उखान उल्लेख गर्दै सरकारको प्राथमिकतामाथि प्रश्न उठाइन्।
अर्यालले ‘अतीतको बोझ’ भन्नाले के जनाउन खोजिएको हो भन्ने स्पष्ट हुनुपर्ने बताइन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहित नेपालले दाबी गर्दै आएको अतिक्रमित भूभागका विषयलाई नै त्यस्तो बोझका रूपमा व्याख्या गरिएको हो कि भन्ने आशंका व्यक्त गरिन्।
उनले सीमाको सुरक्षाका लागि संघर्ष गरेका नेपाली नागरिक र राष्ट्रिय हितसँग जोडिएका विषयलाई बेवास्ता गर्न खोजिएको हो भन्ने प्रश्नसमेत उठाइन्।
सांसद अर्यालले सरकार परिवर्तन भए पनि राष्ट्रको आधारभूत नीति र राष्ट्रिय स्वार्थ परिवर्तन नहुने उल्लेख गर्दै मन्त्रीहरूले सार्वजनिक अभिव्यक्ति दिँदा थप जिम्मेवार र संयमित हुनुपर्नेमा जोड दिइन्। उनले राष्ट्रियता र सार्वभौमिकतासम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको बताइन्।

