काठमाडौँ । अमेरिका र इरानबीच जारी तनाव र युद्ध अन्त्यका लागि तयार पारिएको भनिएको प्रारम्भिक शान्ति मस्यौदाका मुख्य बुँदाहरू सार्वजनिक भएपछि मध्यपूर्वको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।
इरानको अर्ध-सरकारी समाचार एजेन्सी मेहर न्यूज ले प्रस्तावित समझदारीका १४ महत्त्वपूर्ण बुँदाहरू आफूले प्राप्त गरेको दाबी गरेको छ। यद्यपि, वासिङ्टन र तेहरानका आधिकारिक निकायहरूले उक्त विवरणबारे हालसम्म कुनै औपचारिक पुष्टि वा खण्डन गरेका छैनन्।
प्रतिवेदनअनुसार, प्रस्तावित मस्यौदाको प्रमुख सर्त युद्ध जारी रहेका सबै मोर्चामा तत्काल र स्थायी युद्धविराम लागू गर्नु रहेको छ। विशेष गरी लेबनानमा जारी द्वन्द्व अन्त्य गर्ने विषयलाई इरानको प्राथमिक चासोका रूपमा समेटिएको बताइएको छ।
मस्यौदामा सम्झौता भएको ३० दिनभित्र अमेरिकाले इरानमाथि लगाएको समुद्री नाकाबन्दी हटाउनुपर्ने र त्यसको बदलामा इरानले विश्व व्यापारका लागि महत्त्वपूर्ण हर्मुज जलडमरू पुनः सञ्चालनमा ल्याउनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, इरान वरपरको क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति घटाउने, नयाँ आर्थिक वा सैन्य प्रतिबन्ध नलगाउने तथा इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने प्रतिबद्धता पनि प्रस्तावमा समावेश भएको दाबी गरिएको छ।
आर्थिक पक्षमा, युद्धबाट भएको क्षतिको पुनर्निर्माणका लागि अमेरिका र उसका सहयोगी राष्ट्रहरूले करिब ३०० अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रस्ताव रहेको बताइएको छ। साथै, इरानी तेल तथा ऊर्जा व्यापारमाथिका प्रतिबन्ध हटाउने र बदलामा इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता पुनः दोहोर्याउने व्यवस्था पनि समेटिएको उल्लेख छ।
यद्यपि, इरानले यो केवल प्रारम्भिक रूपरेखा मात्र भएको स्पष्ट पारेको छ। तेहरानले विदेशस्थित रोक्का सम्पत्तिको कम्तीमा आधा हिस्सा फुकुवा नभएसम्म र तेलमाथिका प्रतिबन्ध व्यवहारिक रूपमा हटाइएनसम्म अन्तिम वार्तामा सहभागी नहुने अडान लिएको मेहर न्यूजले जनाएको छ।
यदि दुवै पक्षबीच अन्तिम सहमति कायम भएमा त्यसलाई कानुनी मान्यता दिन संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट विशेष प्रस्ताव पारित गराउने योजना रहेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ।

