काठमाडौँ । नेपाल–भारत द्विपक्षीय सीमा सुरक्षा बैठकमा सहभागी हुन भारतको उत्तराखण्ड र उत्तर प्रदेशका सीमा सुरक्षा अधिकारीहरूको टोली सोमबार गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरेको छ।
कञ्चनपुरको भीमदत्तनगरमा आयोजना हुने बैठकमा दुवै देशका सुरक्षा निकायका उच्च अधिकारीहरू सहभागी हुनेछन्। बैठकमार्फत सीमा क्षेत्रमा देखिएका चुनौतीहरूबारे संयुक्त रूपमा समीक्षा गर्दै सुरक्षा सहकार्यलाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ।
बैठकमा सीमा विवाद, सीमापार आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन, लागुऔषध ओसारपसार तथा सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र आपसी समन्वयलाई मजबुत बनाउन साझा रणनीति तय गर्ने अपेक्षा गरिएको छ। नियमित रूपमा आयोजना हुँदै आएका यस्ता बैठकले नेपाल–भारतबीचको सुरक्षा सहकार्यलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

