काठमाडौं । कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारले तीन दिनदेखि नियमित खाना नपाएको गुनासो गरेका छन्। आइतबार साँझदेखि खाना वितरण रोकिएपछि उनीहरू समस्यामा परेका हुन्।

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार सोमबार बिहान उनीहरूले आन्दोलनसमेत गरेका थिए। सोमबार बालबालिकालाई दही–चिउरा तथा ठूला व्यक्तिलाई चिउरा र दालमोट उपलब्ध गराइए पनि त्यसपछि नियमित भोजन नपाएको उनीहरूको भनाइ छ।

उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि झण्डै दुई महिनादेखि ६५ परिवारका २ सय ७७ जना विस्थापित राधास्वामी परिसरमा अस्थायी टेन्टमा बस्दै आएका छन्। यसअघि बिहान–बेलुका खाना उपलब्ध हुँदै आए पनि आइतबार साँझपछि खाना वितरण पूर्ण रूपमा रोकिएको उनीहरूको दाबी छ।

खाना अभावका कारण बालबालिकाको विद्यालय जान प्रभावित भएको, बिरामीले समयमै औषधि खान नसकेको तथा दैनिक जीवन नै कष्टकर बनेको विस्थापितहरूको गुनासो छ।

यता, काठमाडौं महानगरपालिकाले भने खाना वितरण पूर्ण रूपमा बन्द नभएको र व्यवस्थापन प्रणाली परिवर्तनका कारण केही समय ढिलाइ भएको जनाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले हालसम्म नियमित रूपमा खाना उपलब्ध गराइँदै आएको र देखिएको समस्या अस्थायी मात्र रहेको बताएका छन्। स्थायी बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टरमा रहेका परिवारको हेरचाह महानगरले नै गर्ने उनको भनाइ छ।

तर, राधास्वामी सत्संग आश्रमले भने महानगरले जिम्मेवारी लिएपछि आफूहरूले खाना व्यवस्थापनमा कुनै भूमिका नराखेको स्पष्ट पारेको छ। आश्रमका एक कर्मचारीका अनुसार सुरुवाती केही दिन मात्र आश्रमले आफ्नै तर्फबाट भोजन उपलब्ध गराएको थियो र पछिल्लो अवस्थाबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्।

नियमित खाद्य व्यवस्थापन नहुँदा होल्डिङ सेन्टरमा बसिरहेका विस्थापित परिवारमा चिन्ता र अन्योल बढ्दै गएको छ।