काठमाडौं । नेकपा सांसद प्रमेशकुमार हमालले फिफा विश्वकप फुटबल नेपाली दर्शकले निःशुल्क हेर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद हमालले विश्वकप प्रसारणमा सीमित सेवा प्रदायकको एकाधिकार रहेको उल्लेख गर्दै हाल लिइँदै आएको शुल्कले धेरै दर्शकलाई खेलबाट वञ्चित गरेको बताए।

उनले विश्वकपप्रति युवापुस्ताको विशेष आकर्षण रहेको उल्लेख गर्दै ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था सबै नागरिकका लागि सहज नभएको बताए।
“विश्वकपप्रति आम नागरिकको ठूलो चासो छ। तर महँगो शुल्कका कारण धेरै दर्शकले आफ्नो पहुँच पुर्‍याउन सकेका छैनन्,” उनले भने।
सांसद हमालले सम्बन्धित सेवा प्रदायकले पर्याप्त आम्दानी गरिसकेको दाबी गर्दै अब विश्वकप प्रसारणलाई निःशुल्क बनाउन पहल गर्नुपर्ने धारणा राखे।
उनले नेपाल सरकारलाई सरकारी टेलिभिजन च्यानलमार्फत विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन आग्रह गरे।
हाल नेपालमा टेलिभिजनमार्फत विश्वकप हेर्न दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ।